
काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ ।
‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा भारतीय सेनाको रिटायर्ड मेजर जनरल अशोक मेहताले २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शिर्षकको लेख लेख्दै प्रधानमन्त्री दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा चित्रित गरिएको बताउनुभयो । उहाँले लेखमा दाहाल भारत चढ्नका लागि उपयुक्त पात्र भएको उल्लेख गरिएको र पूर्व प्रधामन्त्री शेरबहादुर देउवालाई पनि भविष्यमा चढ्नका लागि उपयुक्त घोडा भनिएको भन्दै यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्ने बताउनु भयो । कांग्रेसले समेत सभापतिलाई त्यसो भनिदा चुइँक्क बोल्न नसकेको भन्दै कांग्रेस कुन कुनामा मुर्छा परेर बसेको छ ? भनि प्रश्न गर्नुभयो ।
सांसद पन्तले माओवादी केन्द्रले विगतमा भारतसँग सुरुङ युद्ध लड्ने समेत घोषणा गरेको भन्दै आफ्नो अध्यक्ष तथा प्रधानमन्त्रीलाई यसो भनिरहँदा कुन सुरुङमा लुकेर बसेको भनेर प्रश्न समेत गर्नुभयो । उहाँले माओवादीहरुको स्वाभिमान कहाँ गयो भनेर पनि प्रश्न गर्नुभयो । सांसद पन्तले माओवादीहरुको शरिरमा तातो स्वाभिमानी रगत बगेको छ कि पानी बगेको छ भन्ने प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्