
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति नयाँ काम गरेको दाबी गर्नुभएको छ ।
शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा गरेर अघि बढ्दै गर्दा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि नयाँ काम गरेको जनताले देखेको बताउनुभयो । उहाँले पुराना नेताहरुले गरेको राम्रो कामलाई पनि नयाँ नेताहरुले, पुराना प्रधानमन्त्रीका राम्रा कामलाई नयाँ प्रधानमन्त्रीले, अहिलेका प्रधानमन्त्रीको राम्रो कामलाई हुनेवाला प्रधानमन्त्री वा नेताहरुले समर्थन र प्रशंसा गर्ने दिन आए नयाँ संस्कारको शुरुवात हुने दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताउनुभयो । नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६ दशमलव ९ प्रतिशत रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताउनुभयो । घुमौँ भरतपुर भन्ने नाराका साथ आजबाट ‘भरतपुर भ्रमण वर्ष, २०२४’ शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्