२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय सभा अध्यक्ष पदकाका लागि कांग्रेस र माओवादीबीच दरार बढ्दै


1.066k
Shares

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पछिल्लो समय दरार बढ्दै गएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन नजिकिँदै गर्दा दुबै दलले अध्यक्षमा दाबी गर्नुले सत्ता साझेदार यी दुई दलबीच खटपट बढेको देखाउँछ ।

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादीले हार व्यहोर्नुपरेपछि सुरु भएको खटपट राष्ट्रियसभा निर्वाचन नजिकिँदै गर्दा थप पेचिलो बनेको अनुभव गर्न थालिएको छ । यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी र कांग्रेस दुबै दलको हानाथाप परेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको बेला कांग्रेसबाट अध्यक्ष्य बनाउने सहमति सत्ता गठबन्धनबीच भएको थियो । तर, कोशी प्रदेशमा आफ्नो उम्मेदवार हारेको बहानामा माओवादी राष्ट्रियसभाको अध्यक्ष हात पार्ने रणनीतिमा छ । माओेवादीले राष्ट्रियसभाको ठूलो दलको हैसियत समेत देखाउन थालेको छ भने स्थायी समितिबाट अध्यक्ष अरुलाई नछाड्ने निर्णय गराईसकेको छ । तर, कांग्रेस पनि अध्यक्ष नछाड्न अडिक छ । यही फागुन ७ देखि १० गतेसम्म चलेको कांग्रेसको महासमीति बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरुमा माओवादी पार्टी र उसको जनयुद्धलाई नकारात्मक रुपमा चित्रित गरिएको विषयमा पनि माओवादीको गुनासो छ । त्यस्तै, महासमिति वैठकले आगामी कुनै पनि चुनावमा अरु कसैसंग गठबन्धन नगर्ने प्रस्ताव पारित गरेकोमा पनि माओवादी झस्किएको छ ।

कांग्रेस महासमितिको निर्णयले कांग्रेससंग गठबन्धन तोड्नुपर्छ भन्ने माओवादीभित्रको मतलाई बल पुगेको छ । यही बीचमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भएका भेटहरुले गठबन्धनको ठूलो दल कांग्रेसलाई पनि झस्काएको छ । कतिपयले सत्ता गठबन्धन फेरिएर २०७९ पुष १० कै स्थितीमा पुग्ने त हैन भन्ने आशंका पनि गर्न थालेका छन् । यद्यपी शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा भेला भएका शीर्ष नेताहरुले सत्ता गठबन्धन पाँच वर्ष निरन्तर जान्छ भन्ने दाबी दोहो¥याएका छन् ।

शीर्ष नेताहरुले सार्वजनिक खपतका लागि दाबी गरे जस्तो सत्ता गठबन्धनमा कुनै समस्या नै नआएको भने पक्कै होइन । भागवण्डाका कारण रातारात कुरा मिल्ने र विग्रने नेपाली राजनीतिको स्थायी चरित्र बनेकाले यस पटक पनि भागवण्डाले नै आगामी दिनको राजनीतिक कोर्स तय गर्ने पक्का छ ।