१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आन्दोलनरत दुग्ध किसान र सरकारबीच ५ बुँदे सहमति


585
Shares

काठमाडौं । आन्दोलनमा उत्रिएका दुग्ध किसान र नेपाल सरकारबीच ५ बुँदे सहमति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबिच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति गरिएको हो ।

सहमति भए अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकमलाई निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले २०८० साल चैत्र २१ सम्म गर्नेछन् ।

केन्द्रीय दुग्ध सहकारी संघले नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरेवापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समयदेखि नपाएकाले उक्त रकमको भुक्तानीको माग गर्दै दुग्ध उत्पादक कृषकहरूले फागुन ८ गतेदेखि आन्दोलन गरिरहेका थिए ।

त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाइ मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ । दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि मन्त्रालयले आवश्यक समन्वय गर्ने साथै दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवर्द्धन सम्बन्धी विषयहरू नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमतिमा उल्लेख छ ।

यसैगरी नेपाल सरकारले पशुपालक कृषकलाई दिइरहेको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने छ भने केन्द्रीय दुग्ध सहकारी संघले राखेका अन्य मागहरू सम्बोधन गर्न पहल गर्ने पनि सहमति भएको छ । सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू अहिलेका लागि स्थगित गरिएको छ ।