२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भूतपूर्व गोरखा सैनिकको मुद्दामा अन्तर्राष्ट्रिय कानून आकर्षित हुन्छ : नारायण खड्का


325
Shares

काठमाडौं । पूर्वपराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. नारायण खड्काले भूतपूर्व गोरखा सैनिकको पेन्सनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउनुभएको छ ।

आइतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद डा.खड्काले सकेसम्म बेलायत सरकारसँग पहल गर्ने र पहलबाट बेलायती सैनिक सरह नै ब्रिटिश गोरखा सैनिकले पनि समान सेवा सुविधा पाउनुपर्ने माग सम्बोधन हुन नसके अन्तर्राष्ट्रिय कानूनबाट अघि बढ्न सकिने बताउनु भयो ।

सांसद खड्काले यस विषयमा प्रधानमन्त्री जानु भन्दा पनि प्राविधिक समितिले एजेण्डाका विषयमा छलफल गर्ने वातावरण बनाइदिनुपर्ने बताउनु भयो । उहाँले मन्त्री स्वयंले यस विषयमा नेपालका लागि बेलायती राजदुतलाई बेलाएर छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले भुतपूर्व गोरखा सैनिकमाथि बेलाय सरकारले गरेको काम गम्भीर, अन्याय र विभेदकारी रहेको बताउनु भयो । उहाँले भारत र अमेरिका लगायतका देशहरुसँगको लविङ पनि आवश्यक रहेको जिकीर गर्नुभयो ।

सांसद खड्काले भन्नुभयो, ‘यो एउटा गम्भीर मुद्दा छ, अन्याय र विभेदकारी पनि छ । अन्तर्राष्ट्रिय कानून पनि यसमा आकर्षित हुन्छ । त्यो अन्तिम कदम हो । अहिले नै हामी त्यसमा गइहाल्ने भन्ने छैन । प्रधानमन्त्री स्तरमा पनि कुरा उठेको छ । तर पनि उनीहरुले हामी हेर्छौं, अध्ययन गर्दैछौँ भनेका छन् । बेलायती सेनाप्रमुख जनवरी अन्तिममा नेपाल आएका थिए । पेट्रिक स्ट्याण्डर्ससँगको कुरामा उनी सकारात्मक कुरा रहेको बताएका छन् । केही कानून परिवर्तन गर्न सकिन्छ भन्ने छ । यो विषय गम्भीर छ । यस भन्दा अघि पनि उठेका छन् । यसकै लागि प्रधानमन्त्री जाने भन्दा पनि र मन्त्रीजीकै लागि पनि प्राविधिक समितिले तयार पारेर जाने हो । सिधै मन्त्री गएर कुरा गर्ने भन्ने हुँदैन । हाम्रा एजेण्डामाथि छलफल हुने भएमात्रै जानुपर्छ । यसमा अन्तर्राष्ट्रिय सहयोग पनि चाहिन्छ । अरु देशहरुले हामीलाई सहयोग गर्नुपर्छ । भारत, अमेरिका लगायतका देशहरुसँग लविङ गर्नुपर्छ । ३ सय खर्ब भन्दा पनि ठूलो हाम्रो आत्मसम्मान हो । न्याय हामीले पाउने कुरा हो । सरकारले यसलाई गम्भीरतापूर्वक लिन्छ भन्ने लाग्छ ।’

सांसद खड्काले भुतपूर्व गोरखा सैनिकले न्याय पाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको पनि बताउनु भयो ।