
बैतडी । बैतडीमा तेस्रोपटक पटक हिमपात भएको छ । दुईदिनदेखिको वर्षापछि सोमबार बिहान हिमपात भएको हो ।
बैतडी जिल्लाको दशरथचन्द, जयपृथ्वी, महाकाली राजमार्गको विभिन्न क्षेत्रमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।
राजमार्गका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थड, सतबाँझ, धरमघरलगायतका स्थानमा हिमपात भएको हो । हिमपातका कारण राजमार्ग भने अवरुद्ध नभएको ट्राफिक प्रहरी पोष्ट खोडपेले जनाएको छ ।
यसैबीच हिमपात र वर्षाभएसँगै बालीनाली सप्रिने भन्दै यहाँका कृषक खुशी भएका छन् । हिमपातले चिसो बढेका कारण जनजीवन भने प्रभावित भएको छ ।
चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । चिसोबाट बच्न तातो झोलिलो खानेकुरा खान र न्यानो लुगा लगाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । यसअघि बैतडीमा दोस्रोपटक फागुन १० गते र माघ १८ गते पहिलोपटक हिमपात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्