
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।
प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व.२०७९–०८० पेश गर्ने र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै आ.व. २०८१–०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । साथै प्रतिपक्ष दलहरुले उठाएको समसामयिक विषयका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ ।
दिउँसो सवा एक बजेबाट शुरु हुने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन, २०७९–०८० सभा समक्ष पेस गर्ने र नवनिर्वाचित सदस्यहरुको स्वागत तथा सदस्यहरुबाट सभामा अपेक्षा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्