
नवलपरासी । १७ घण्टादेखि अवरुद्ध बनेको नारायणगढ–बुटवल सडकखण्ड अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । आइतबार साँझ ६ बजेदेखि अवरुद्ध रहेको दाउन्ने सडकखण्डमा आज बिहानदेखि साना सवारी साधनहरु एकतर्फीरुपमा सञ्चालनमा आएपनि ठूला सवारी साधन भने सञ्चालनमा आउन नसकेको हो ।
आइतबार परेको सिमसिमे पानीका कारण पूर्वी नवलपरासी तर्फको दाउन्नेस्थित त्रियासी मोड र पश्चिम नवलपरासीको एसमोडमाथिको सडक अवरुद्ध भएको हो ।
राजमार्गको सडक विस्तारका व्रmममा बनाइएको डाइभर्सनमा नयाँ माटो राखेका कारण पानीले हिलो बनाउँदा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीका प्रमुख इन्स्पेक्टर राजु खत्रीले बताउनुभयो । हिजो साँझदेखि अवरुद्ध भएको सडकमा अहिले एकतर्फीरुपमा साना सवारी साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।
नयाँ माटोका कारण सडक दलदल भएकाले ठूला सवारी साधन सञ्चालनमा कठिनाइ भएको हो । अहिले डोजरले हिलो माटो फालिरहेकाले ठूला सवारी साधन सञ्चालनमा आउन केही समय लाग्ने इन्स्पेक्टर खत्रीले जानकारी दिनुभयो ।
अवरुद्ध भएको पूर्वी नवलपरासीतर्फको बाटोमा एकतर्फीरुपमा ठूला सवारी साधन सञ्चालनमा आएपनि पश्चिम नवलपरासीमा भएको अवरुद्धले ती सवारी साधन दाउन्नेमा रोकिनु परेको जिल्ला ट्राफिक कार्यालय पूर्वी नवलपरासीका निमित्त प्रमुख सई मिन कुँवरको भनाइ छ ।
सडक पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा पूर्व, पश्चिम जाने सयौं यात्रु दुम्किवास, बर्दघाट र दाउन्नेमा अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्