
काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै शेयर बजारका लगानीकर्तामा देखिएको उत्साह घटेको छ ।
सोमबार ११७.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार उच्च दरमा घटेको हो ।
सोमबार नयाँ गठबन्धन बनेसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने अपेक्षाले शेयर बजार ६ प्रतिशतले बढेर कारोबार बन्द भएको थियो ।
तर, मंगलबार नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ बिन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ४.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंकले घटेको छ ।
मंगलबार कारोबारमा अएका ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार कित्ता शेयर ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचक ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार उच्च अंकले नेप्से परिसूचकमा गिरावट आउँदा दुई कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ८.७३ प्रतिशत बढेको छ । त्यस्तै, बोटलर्स नेपाल (तराई) को शेयरमूल्य करिब साढे ९ प्रतिशत घटेको छ भने प्रभु इन्स्योरेन्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहकोे परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक मात्रै बढेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ४.३५ प्रतिशत,जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।
मंगलबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्