
काठमाडौं । कञ्चनपुरमा जङ्गली हात्तीको बथानले आतंकित पारेको छ । रात नपर्दै खेतमा छिर्ने जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दालाई आतंकित बनाएको हो । स्थानीयले आगो बालेर तर्साउन खोज्दा पनि हात्ती भाग्दैनन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथानले तीन दिनदेखि स्थानीय कृषकको खेतबारीमा पसेर पाक्नै लागेको गहुँबालीमा नोक्सान पुर्याउँदैछ ।
पहिलेपहिले आगो देखाउने, टिन ठटाउने, हल्ला गर्ने गर्दा भाग्ने गरेका हात्तीहरु अहिले बाटोमै काठका मुढा बाल्दा पनि र साइरन बजाउँदा पनि नटेरेको शुक्लाफाँटा–५ का बासिन्दा बताउँछन् ।
तीन दिनमै कृषकका न्यूनतम दुई कठ्ठादेखि १० कठ्ठा जमीनको गहुँबालीमा हात्तीको बथानले नोक्सान पारेको छ । रातभरी हात्ती धपाउन जागेर बस्नु परेको स्थानीयको भनाइ छ । हात्तीले हरेक वर्ष क्षति पुर्याउँदै आएको भएपनि अहिलेसम्म क्षतिपूर्ति बापतको रकम नपाएको स्थानीयले गुनासो गरेका छन् ।
जङ्गली जनावरले खेतमा लगाएको बालीनाली नोक्सानी पुर्याएकाले क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्न ३० भन्दा बढी कृषकले निवेदन दिएको वडाध्यक्ष चक्रबहादुर खड्काले बतउनुभयो ।
निकुञ्जबाट आउने हात्तीले गर्जमुनिका साथै वडा नं ६, ७, २ र ३ मा पनि वर्षेनी क्षति पर्याउने गरेको छ । तीन वर्षभित्र नगरपालिका क्षेत्रका चार जनाको हात्तीको आक्रमणमा परेर मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्