२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ : झलनाथ खनाल


3.484k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनुभएको छ ।

वामपन्थी एकताको पक्षमा वकालत गर्दै आउनुभएका उहाँले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गर्नुभएको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सम्मानित नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताउनु भयो । उहाँले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताउनु भयो ।

नेता खनालले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पार्नुभयो । सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरु बीच नै एकीकरणको प्रक्रिया शुरु हुने बताउनु भयो ।

‘अब हामीले खास अवस्थामा विद्रोह गरेर अलग पार्टी बनायौं । यी सबै घटनाक्रमहरुको बारेमा र नेकपा आफैँ एउटा बडो शक्तिशाली पार्टी १० लाखभन्दा बढी पार्टी सदस्यहरु भएको पार्टी थियो । दुई तिहाई बहुमत संघीय संसदमा थियो । देशका ६ वटा प्रदेशहरुमा हामीसँग पर्याप्त बहुमत थियो । र तलपनि पालिकाहरुमा ७५३ वटा पालिकाहरुमा ४५४ पालिकामा हाम्रो वर्चश्व थियो । यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो । आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहालोकनका विषयहरु हुन् । र प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ ।’ नेता खनालले भन्नुभयो ।

सम्मानित नेता खनालले कम्युनिष्टहरुबीचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरुले आ–आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्दै कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।