
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली कांग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गर्नुभएको छ ।
उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने कांग्रेसको प्रयास उचित नभएको पनि जिकिर गर्नुभयो । सरकारबाट हटन नपाउँदै जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रश्ताव गर्दै हिँड्ने काम कांग्रेसले गरिरहेको उल्लेख गर्दै त्यो सत्ताबाट अप्रत्याशित रुपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको उहाँले बताउनुभयो ।
बुधबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा संक्षिप्त कुरा गर्दै उहाँले कांग्रेस जिम्मेवार पार्टीको रुपमा भन्दा पनि प्रतिसोधको भावनाबाट चल्न खोजेको आरोप समेत लगाउनुभयो । कांग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले काँग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’को नीति लिन पनि सुझाव दिनुभयो । उहाँले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हरसम्भव प्रयास गर्ने पनि स्पष्ट पार्नुभयो । अब यो विकल्प पनि कम भएको र प्रणाली समेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरुले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नेपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो ।
उपमहासचिव ज्ञवालीले गएको १४ महिना कांग्रेस प्रमुख दल रहेको गठबन्धन सरकारले मुलुकमा केही पनि गर्न नसकेको जिकिर गर्दै जनतामा छाएको निराशा र व्यवस्थामाथि आएको संकट समाधान हुने गरी सरकारको काम केन्द्रित हुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्