२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै


637
Shares

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१७ बजेका लागि बोलाइएको छ । यसअघि फागुन २१ गते बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको अनुगमन तथा मूल्यांकन विधेयक २०७६ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।