
काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बिहीवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
बैठकले नेपाली काँग्रेस सदैव गठबन्धनकाप्रति इमान्दार रहेको दाबी समेत गरेको छ । बैठकका निर्णय सुनाउँदै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरशः पालना गर्नेगरी काँग्रेस प्रश्तुत हुँदासमेत प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसलाई विश्वासघात गरी गठबन्धनमाथि बेइमानी गरेको काँग्रेसको ठहर गरेको बताउनु भयो ।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेका कारणहरु काल्पनिक, कपोकल्पित र तथाकथित रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले काँग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गर्नुभएको ठहर काँग्रेसको छ ।
प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘यो बैठकमा हामीले पछिल्लो समयमा विकसित र परिवर्तित राजनीतिक घटनाहरु, घटननाक्रमका बारेमा छलफल गरेका छौँ । विगतमा एउटा निश्चित परिस्थितिमा नेपाली काँग्रेस समेत मिलेर हामीले गठबन्धन बनायौँ, त्यो गठबन्धनलाई गत संसदीय र प्रदेश सभाको निर्वाचनताका पनि गठबन्धनकै आधारमा हामी निर्वाचनमा प्रतिष्पर्धा गरेका थियौँ । जनताका बीचमा पनि गठबन्धन बनाएरै गएका थियौँ । हाम्रो गठबन्धन निर्माणको मुख्य उद्देश्य भनेको नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढिकरण र यो व्यवस्थालाई सुदृढ गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि, स्थिरता प्राप्त गर्ने लक्ष्यका साथ हामीले गठबन्धन गरेका थियौँ । नेपाली काँग्रेस सदैव गठबन्धनकाप्रति इमान्दार रह्यो ।’
‘हामीले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरशः पालना गर्नेगरी हामी प्रतिवद्ध रह्यौं। र तदनुरुप काम गरेका थियौँ । तर पछिल्लो समयमा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीले गठबन्धनलाई, हामीलाई विश्वासघात गरेर गठबन्धन भत्काउनु भयो । उहाँले जुन कारणहरु विभिन्न ढंगले भनिरहनुभएको छ, ती अत्यन्त काल्पनिक, कपोकल्पित र तथाकथित कारणहरु देखाएर गठबन्धन भत्काउनु भयो । यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा ठहर गरेका छाँै । हामीले गठबन्धनका नियम पालना गरेका थियौँ तर उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु भयो । उहाँले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गर्नुभयो । उहाँले गर्नुभएको विश्वासघात, राजनीतिक बेइमानी लगायतका कुरालाई हामीले ठहर र अनुभुति गरेर हामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएका छौँ । अब नेपाली काँग्रेस संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्दछ र आजको बैठकले संघीय संसदमा रहेका नेपाली काँग्रेसका सम्पूर्ण माननीय सदस्यहरुलाई संसदमा देश र जनताका हीतमा प्रभावकारी रुपले प्रश्तुत हुन र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न निर्देशन गरेको छ ।’ प्रमुख सचेतक लेखकले बताउनुभयो ।
प्रमुख सचेतक लेखकले नेपाली काँग्रेसले अब संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनु भयो । पार्टीले संघीय संसदमा रहेका नेपाली काँग्रेसका सम्पूर्ण सदस्यहरुलाई संसदमा देश र जनताका हीतमा प्रभावकारी रुपले प्रश्तुत हुन र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न निर्देशन समेत दिएको छ । बैठकमा पछिल्लो समयमा विकसित र परिवर्तित राजनीतिक घटनाका बारेमा पनि छलफल भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्