९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सैद्धान्तिक र वैचारिक विषयमा शंका र अविश्वास भएकाले कांग्रेससँगको गठबन्धन भत्कियो : प्रधानमन्त्री दाहाल


533
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शंका र अविश्वास भएका कारण नेपाली कांग्रेससँगको गठबन्धन भत्काएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस पार्टी र आफूहरुका बीचमा वैचारिक विषयमा शंका र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको प्रष्ट पार्नुभयो । उहाँले कांग्रेसको नेतृत्व र आफ्नाबीच व्यक्तिगत अविश्वास पनि केही नभएपनि व्यक्तिगत भन्दापनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरित लाग्दापनि कारबाही नभएको बताउनुभयो ।

त्यस्तै, राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको बताउनुभयो । उहाँले कांग्रेस महासमिति बैठकले गठबन्धनको विरुद्धमा निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर चलाउनु नै गठबन्धन टुट्नुको कारण रहेको उल्लेख गर्नुभयो । त्यसैगरी कांग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठिक भएको आशय उल्लेख गरिनुपनि सम्बन्ध टुट्नुको कारण भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले व्यक्तिका रुपमा कांग्रेसले आफूलाई माया गरेको भएपनि प्रधानमन्त्रीको रुपमा न्याय नगरेको बताउनुभयो ।