
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राजनीतिक बेइमानी नगरेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको भन्दै त्यसको खण्डन गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले आफूले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले सोच, विचार गरेर नै नयाँ गठबन्धन बनाएको बताउनुभयो । उहाँले यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुने बताउनुभयो । उहाँले आफुसँग हुँदा इमान हुने र अर्को सँग हुँदा जाने बित्तिकै बेइमान नहुने भन्दै यो विषय राजनीतिक परिस्थिति र राजनीतिक मुद्दामा निर्भर रहने बताउनुभयो । उहाँले संसदमा भएका दलहरुका बीचमा अविश्वास, आशंका र घृणा नगरी राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प हुँदाहुँदै आफूलाई प्रमाणित गर्ने चुनौती रोज्नु आफुप्रतिको जिम्मेवारी ठानेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्