१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई एमालेको आग्रह


988
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको छ ।

शुक्रबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरणले मुलुक विद्यमान संकटलाई समाधान गर्न अनुकुलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ५ राजनीतिक दलहरु सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरुलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।

बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तिब्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ । नयाँ सत्ता समिकरण मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास पनि एमालेले लिएको छ ।

महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसावले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पुर्‍याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो ।

त्यसैगरी एमालेले आगामी वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रुपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो । एमालेको वार्षिक क्यालेण्डरमा नेकपा स्थापना दिवस विशेष समारोहकाबीच मनाउने तय गरिएको थियो । त्यसलाई सम्पन्न गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

एमालेले अन्तर्राष्ट्रिय महिला दिवस, महा शिवरात्री पर्व र सेना दिवस अवसरमा पनि शुभकामना दिएको छ ।