२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमाले सिध्याउने गठबन्धन टुट्यो : ईश्वर पोखरेल


3.692k
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समिकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिहरुले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको अपराधिक गठबन्धन टुटाएर नयाँ समिकरण बनाउन आफूहरु सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि बताउनुभयो ।

शनिबार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नयाँ सत्ता समिकरणलाई पनि मिशन–२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पु¥याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताउनुभयो । उहाँले नयाँ सत्ता समिकरणमार्फत् मुलुकको बेथितितर्फ गईरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारबिरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।