
काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको छ ।
मिथिलामा मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।
प्रथम राष्ट्रपति यादवले धार्मिक कार्यक्रमहरुमा समेत राजनीति गर्नेहरुलाई सहभागी गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताउनु भयो । धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताउँदै उहाँले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताउनु भयो ।
यादवले भन्नुभयो, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु पर्छ । धार्मिक कार्यक्रमहरुमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रमहरुमा समेत नेता कार्यकर्ताहरुलाई बोलाएर तामझाम गर्नुपर्छ ।’
कार्यक्रममा उद्योग, पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले प्रदेश सरकार मधेसलाई धार्मिक पर्यटनको हवको रुपमा विकास गर्न तत्पर रहेको बताउनु भयो । उहाँले मधेसलाई धार्मिक पर्यटनको हवको रुपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक सावित हुनसक्ने बताउनु भयो । यसका लागि प्रदेश सरकारले मास्टर प्लान बनाएर मिथिला मध्यमा परिक्रमाका पडाव स्थलहरुलाई व्यवस्थित तुल्याउनका लागि बजेट समेत छुट्याएको मन्त्री यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्