
काठमाडौं । ललितपुरबाट हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको हो ।
ललितपुरको काल्चे खण्डको सडक बिस्तार गर्न आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।
काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मर्मतसम्भारका लागि बन्द हुनेछ । यो सडक खण्डका ठाउँठाउँमा रहेका साँघुरा सडकलाई चौडा पार्न लागिएको जनाइएको छ ।
सडकमाथि रहेका ठूला र कडा चट्टान काट्ने निर्णय भएकाले सडक बिस्तार गर्न समय लाग्ने भएको जनाइएको छ । काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको सडक आयोजनाले जनाएको छ ।
कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको लम्बाइ ९२ किलोमिटर रहेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपनि छम्पी टीकाभैरव खण्डमा भने सडक चौडा गर्ने कार्य बाँकी नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्