२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारको प्राथमिकता उद्यमीलाई प्रोत्साहन गर्ने : अर्थमन्त्री पुन


247
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ ।

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज मन्त्री पुनलाई बधाई तथा शुभकामना दिँदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको छ ।

अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउनुहुँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भारतले अवलम्बन गरेको जीएसटी र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिबृद्धि कर (भ्याट) का कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको भन्नुहुँदै बहुदर भ्याट प्रणालीमा जान आग्रह गर्नुभयो ।

अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरुको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरु प्रभावित भईरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यवसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानूनहरुलाई सहजीकरण गरिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सो अवसरमा मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले गृहमन्त्रीलाई समेत पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा मात्र थुन्ने निर्देशन दिनुभएको जानकारी गराउँदै मन्त्री पुनले निजी क्षेत्रलाई अगाडि बढाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थतन्त्र केही दबाबमा रहेको भन्नुहुँदै उहाँले अर्थतन्त्र चलायमा बनाउन निर्माण व्यवसायीको ४० अर्ब बराबर भुक्तानीको व्यवस्था हुन लागेको समेत बताउनुभयो ।