
काठमाडौं । नुवाकोटमा बुवाको हत्या गर्ने छोरा र बुहारी पक्राउ परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या गरेको अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका हुन् ।
पचपन्न वर्षीय नेपालीको गत बिहीबार राति भएको हत्यामा संलग्न रहेको अभियोगमा मंगलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाबु छोराबीच यही फागुन २५ गते राती घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ढोकामा लगाउने आग्लोले टाउकोमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता देखिएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएको बताइएको छ ।
आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले हत्या गरेको उनीहरुले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा खुलेको छ ।
भरतबहादुर नेपालीका छोराले दुई वर्षअघि जमुनासँग विवाह गरेदेखि नै बाबुसँग विवाद हुन थालेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्