२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


३८ प्रतिशत कुलिन जनसंख्या बागमती प्रदेशमा


546
Shares

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बस्ने गरेको देखिएको छ ।

आइतवार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या बागमती प्रदेशमा बस्ने गरेको देखाएको हो ।

तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले सबैभन्दा कुलिन वर्ग बागमतीमा बस्ने गरेको बताउनुभयो । उहाँले निम्न वर्गका ५१ प्रतिशत जनसंख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क रहेको बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशमा करिव ४.२ प्रतिशत मात्रै जनसंख्या उच्च वर्गको जीवनस्तर भएका छन् ।

तथ्याङ्क कार्यालयका अनुसार भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरुको जनसंख्या करिव २२ लाख रहेको छ । निर्देशक लामिछानेका अनुसार नेपालबाट सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिएको बताउनुभयो । उहाँले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसंख्या घट्दै र तराईको जनसंख्या बढ्दै गएको देखिएको पनि बताउनुभयो । उहाँले ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको बताउनु भयो ।

निर्देशक लामिछाने पहाडी जिल्लाका काठमाडौं र पोखरा महानगरपालिका लगायतका केही नगरपालिकामा धेरै भएपनि अन्य नगरपालिकामा जनसंख्या कम देखिएको उल्लेख गर्नुभयो । तथ्याङ्क कार्यालयकाअनुसार उमेरको हिसावमा ०–१४ वर्षसम्मका बालबालिको २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा २७.८ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताउनु भयो । उहाँले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताउनु भयो ।

निर्देशक लामिछाने भन्नुभयो,‘ पछिल्लो १० वर्षमा हिमालको जनसख्या घटेको देखिन्छ । तर पहाडको पनि घट्दै र तराईको जनसख्या बढ्दै गएको छ । ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको छ । तराईका जिल्लाका नगरपालिका र गाउँपालिकामा जनसख्या बराबर जस्तो रहेको छ । पहाडी जिल्लाका काठमाडौं महानगरपालिका लगायतमा धेरै भएपनि अन्य नगरपालिकामा जनसख्या कम देखिन्छ । उमेरको हिसावमा तथ्याङ्क हेर्दा फरक किसिमले आएको छ । ०–१४ वर्षसम्मका बालबालिको उमेर प्रतिशत २७.८ प्रतिशतमा आएको छ । २०६८ मा ३४.९ थियो । १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशत बाट झरेर ४३.३ प्रतिशतमा पुगेको छ । ६५ भन्दा माथि उमेर समूहको जनसख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको छ । अन्य देशको तुलनामा बालबालिका उमेर समूहको जनसंख्या कम हुँदै गएकाले ६५ भन्दा माथिको जनसंख्या बढ्दै जाने अवस्था देखिन्छ ।’

‘तर अहिले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशतसम्म रहेको भन्दै नेपालको राम्रो पक्ष रहेको छ । नेपालका आश्रित जनसंख्या कम भएको छ । जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको छ । त्यसले राम्रो संकेत गरेको छ । नेपालको करिव २२ लाख जनसंख्या विदेशमा बसोवास गरेको देखिन्छ । सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिन्छ । नेपालमा फर्कन सक्ने जनसंख्याको तथ्याङ्क हो । कर्णाली प्रदेशमा करिव ५१ प्रतिशत जनसंख्या कमजोर वर्गका बस्ने गरेको देखिएको छ । वागमती प्रदेशमा ३८ प्रतिशत जनसंख्या उच्चगुणस्तर वर्गका बस्ने गरेको छ । कणाली प्रदेशमा ४.२ प्रतिशत मात्रै उच्च वर्गमा देखिएको छ ।’ निर्देशक लामिछानेले बताउनुभयो ।

निर्देशक लामिछानेले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताउनु भयो । उहाँका अनुसार जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताउनुभयो ।