
नवलपरासी । बुद्धको जन्मस्थल लुम्बिनीबाट शुरु भएको धम्मयात्रा बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूपमा पुगेर सकिएको छ ।
शनिबार लुम्बिनीबाट सुरु भएको एक हजार दुई सय पचास जना श्रामणेर ‘अल्पकालीन’ भिक्षुहरुको धम्मयात्रा नवलपरासीको रामग्राम स्तूपमा पुगेर दीप प्रज्वलनसहित सकिएको हो । रामग्राम स्तूप बुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको स्थान हो ।
अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको आयोजनामा सुरु भएको धम्मयात्राका भिक्षुहरुलाई स्तूपमा पुगेपछि रामग्राम नगरपालिकासहितका सरकारी कार्यालय र विभिन्न संघसंस्थाले स्वागत गरेका थिए ।
धम्मयात्रा भैरहवा, बुटवल, देवदहहुँदै रामग्राम स्तूप पुगेर सकिएको हो । यात्राका क्रममा भिक्षुहरुले २५ किलोमिटरको पैदल यात्रा गरेका थिए । यात्रामा सहभागी भएका कुलपुत्र प्रव्रज्या ‘अल्पकालीन भिक्षु’ गराइएको हो ।
विश्व शान्तिको कामनासहित सबै मानवजातिलाई कुशल कर्मतिर लाग्नका लागि सन्देश दिन यात्राको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । धम्मयात्रामा थाइल्याण्ड, जापान, चीन र नेपालका अल्पकालीन भिक्षुहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्