३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


नेपाल डेरी एसोसिएसनद्वारा विद्यालयमा दुग्धपान


0
Shares

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजना तथा दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौँ महानगरपालिका धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयमा रहेका करिब ५०० विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका माननीय मन्त्री ज्वाला कुमारी शाहको विशेष उपस्थितिमा दूध पान गराइएको छ ।

कार्यक्रममा बागमती प्रदेशका माननीय जयराम थापा, पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक डा. बालक चौधरी लगायत विद्यालयका शिक्षकशिक्षिका एवं विद्यार्थीहरूको उपस्थिति थियो ।

कार्यक्रममा स्कुलका बालबालिकालाई दूधपान गराइनुका साथै विद्यालय वरपरका जेष्ठ नागरिकहरूलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । स्वागत मन्तव्य एवं कार्यक्रमबारे बताउँदै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले दुधको महत्व बुझाउँदै अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्न प्रेरित गर्ने कुरामा विश्वास रहेको बताउनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले विश्व खाद्य संगठनका अनुसार प्रति वर्ष प्रति व्यक्ति ९२ लिटर दूध अनिवार्य सेवन गर्नुपर्ने भएको नेपालमा हाल ८७ लिटर मात्र भएको बताउनुभयो । दुग्ध विकास संस्थानका संजीव झाले दूध सेवन गर्दा लेबलिङ र प्याकेजिङ भएको मात्र सेवन गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले गोठदेखि ओठसम्मकै अवस्था गुणस्तरयुक्त हुने कुरा प्रमुख हो र त्यसमा किसानको पाटोमा हामी सजग रहेको बताउनुभयो ।

प्रमुख अतिथि माननीय मन्त्री ज्वालाकुमारी शाहले आफूले मन्त्रालय सम्हालेकै दिनबाट विशेषगरी दूध र दुग्ध किसानका समस्यालाई प्रमुख रुपमा हेरेको बताउनुभयो ।