
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जाने बताउनुभएको छ ।
मंगलबार सत्तारुढ दलहरुको न्युनतम साझा कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले सत्तारुढ दलहरुले न्युनतम साझा कार्यक्रम घोषणाका कुरामा भन्दा कार्यान्वयनको काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले न्युनतम साझा कार्यक्रमलाई व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेवारीवोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले नयाँ सत्ता समीकरण र संकल्पले पनि जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अफ्ठ्यारोमा जाने बताउनुभयो । उहाँले सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभुति दिनेगरी काम गर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले काम, परिणाम, सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्ने काममा लाग्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएको बताउनुभयो । अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्