
काठमाडौं । नेपाल प्रहरीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताउनुभयो । ४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन् । उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ । शहीको २१ वर्षअघि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।
यस्तै, प्रहरीले १६ वर्षअघि धर्मराज बिष्टको हत्याका योजनाकारलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीया धादिङ बुढाथुम गाविस ३, साविक गंगा जमुना गाउँपालिका ७ की हाल ललितपुर २६ मा बस्दै आएकी सविता थापा (अधिकारी) रहेकी छन् ।
धर्मराज बिष्ट मिन भवन कमर्स क्याम्पसको प्राध्यापक रहेको र सामान्य चिनजान रहेको प्रहरीले बताएको छ । बिष्टले आफूलाई बारम्बार जिस्क्याउने गरुेको कुरा भाई विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीहरुलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेको प्रहरीले बताएको छ । दुवैमाथि कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको ।
प्रतिक्रिया दिनुहोस्