
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षको केन्द्रिय समितिको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पार्टी एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको अध्यक्ष यादव पक्षको केन्द्रिय समिति बैठकले गत शनिबार बसेको नेकपा (माओवादी केन्द्र) र नेसपाको पार्टी एकता संयोजन समितिको बैठकले गरेको पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गरेको हो ।
त्यस्तै, अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षका नेताहरुलाई पदमुक्त गर्ने गरेको निर्णयलाई अमान्य घोषणा गरेको सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आफूहरुलाई कसैले पदमुक्त गर्दा पदमुक्त हुने र नगर्दा पदमुक्त नहुने अवस्था नरहेको बताउनुभयो । बैठकले सबै प्रदेशहरुमा ईन्चार्ज र सहईन्चार्ज पनि तोकेको छ । जसअनुसार कोशी प्रदेश ईन्चार्जको जिम्मेवारी राजेन्द्रकुमार किराँती र अध्यक्षको जिम्मेवारी विमला अर्याललाई दिइएको छ ।
मधेश प्रदेश ईन्चार्जमा देवेन्द्र यादव र अध्यक्षमा प्रमोद यादव, वागमती प्रदेश ईन्चार्जमा अक्कलबहादुर थिङ र अध्यक्षमा बन्दना सुवेदीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, गण्डकी प्रदेश ईन्चार्ज रमेश पोखरेल र गण्डकी प्रदेश अध्यक्ष ढाकाराम गौतमलाई बनाइएको छ । लुम्बिनी प्रदेशको ईन्चार्ज तोक्न बाँकी राखिएको छ भने अध्यक्ष उमाशंकर यादवलाई बनाइएको छ ।
लुम्बिनी प्रदेशका इन्चार्ज नतोकिएको र अध्यक्ष उमाशंकर यादवलाई बनाइको सहअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार कर्णाली प्रदेशमा अध्यक्ष तोकिएको छैन भने इन्चार्जको जिम्मेवारी देवीबहादुर बुढाथोकीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज मीनराज बडू र अध्यक्ष विनोद चन्द, गैरभौगोलिक प्रदेश ईन्चार्ज ज्ञानेन्द्र कुमाल र अध्यक्ष राधा थापा तथा प्रवाश प्रदेश ईन्चार्जको जिम्मेवारी नहेन्द्र प्रधानलाई दिइएको छ ।
उहाँले माओवादी केन्द्रसँग एकता गर्नका लागि बनेको कार्यदलले गृहकार्य गरिरहेको भन्दै गृहकार्य पूरा भइसकेपछि एकता संयोजन समितिमा प्रतिवेदन बुझाउने र पार्टी एकताको मिति तय हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्