२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारलाई पैसाको अभाव होइन, पुँजीगत खर्च गर्ने क्षमताको कमी छ : अर्थमन्त्री पुन


520
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्कय रहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनले सरकारसँग अहिले प्राप्त मात्रामा पैसा रहेको बताउनुभयो । उहाँले लगानी गर्ने पर्याप्त पुँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको बताउनुभयो । उहाँले अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको ५ खर्ब भन्दा बढी रकम रहेको बताउनुभयो ।

अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको बताउनुभयो । उहाँले सरकारलाई विदेशी विकास साझेदारहरुले ऋण वा अनुदान भनेर प्रतिवद्धता जनाएको ५ खर्ब रकम रहेको बताउनुभयो । उहाँले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौति दिएपनि अब सरकारले सहयोग जुटाउने भन्दा पनि खर्च गर्न आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्री पुनले प्रतिवद्धता भएको रकम समेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भएपनि अहिले ७ प्रतिशतमा सिमित रहेको बताउनुभयो । उहाँले पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको बताउनुभयो ।

अर्थमन्त्री पुनले पुँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सरकारले नसकेको विषयमा समिक्षा जरुरी रहेको बताउनुभयो । उहाँले सार्वजनिक वित्तको क्षेत्रमा देखिएका चुनौतिलाई समाना गर्न सकिने अवस्थामा रहेको बताउनुभयो । उहाँ देशको समृद्धि, सुशासन, सामाजिक न्याय सबैको साझा प्रतिवद्धता भएकाले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले विगतमा जस्तो नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीति फरक-फरक भएको टिप्पणीलाई अब एकीकृत रुपमा ल्याउने प्रतिवद्धता जनाउनुभयो ।