२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ


273
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शिक्षामन्त्री श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताउनुभएको हो ।

बैठकमा नेकपा(एमाले)की सांसद विद्या भट्टराईले दुई विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै कसरी काम अगाडि बढिरहेको छ भनि मन्त्री श्रेष्ठसँग जवाफ माग गर्नुभएको थियो । सांसद भट्टराईको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्ड कडा भएको आवाज आएकाले प्रक्रिया रोकिएको जानकारी दिनुभयो । उहाँले आफू सहकुलपतिको हैसियतले सर्च कमिटीमा पनि भएको स्पष्ट पार्नुभयो । उहाँले अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह गरिएको भन्दै सोही अनुरुप अगाडी बढ्ने र प्रक्रिया नरोकिने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नर्सिङ शिक्षामा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायहरुसँग बैठक गर्ने र आवश्यक कदम चाल्ने बताउनुभयो ।