
काठमाडौं । खाडी मुलुकहरुबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने र सुन ल्याउने व्यक्तिलाई लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले विदेशबाट पठाएको सुन लुट्ने र उल्टै सुन ल्याउनेबाट सुन बराबरको रकम असुल्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंस्थित संकटा मन्दिर परिसरमा कास्की लज सञ्चालन गर्दै आएका ६० वर्षिय धनबहादुर गुरुङ र उनका २८ वर्षिय छोरा नितेश गुरुङ, काभ्रेको सुनकोशी गाउपालिका ४ घर भई काठमाडौं टेबहालमा बस्ने ३३ वर्षका रामकुमार श्रेष्ठ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका ३६ बर्षिय सुजन लामा, पाँचथरको फाल्गुनन्द गाउँपालिकका हेमराज रसाइली र भारत विहारको दरभंगा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बस्दै आएका राजेशकुमार जाजोजिया रहेका छन् ।
यो गिरोहले खाडी मुलुकबाट आउने नेपाली कामदारलगायतलाई प्रयोग गरी सुन मगाउने र सुन ल्याउनेलाई लुट्ने तथा सुन बराबरको रकम असुल्ने धन्दा गर्दै आएको प्रहरीले जनाएको छ । कास्की लजका सञ्चालक गुरुङ बाउछोराले कास्की मनि चेञ्जरको आडमा तस्करी भएर आएको र लुटेको सुन जम्मा गरेर विभिन्न सुन पसलहरुमा बिक्री गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
भारतीय नागरिक जाजोजियाले न्युरोडमा महाकाली ज्वेलरी संचालन गर्दै आईरहेका छन् भने रसाइलीले ललितपुरको ताल्छिखेलमा ताप्लेजुङ्ग पाँचथर सिद्धदेबि सुनचाँदी पसल सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन बुझ्ने र लुटेरा एउटै गिरोहको हुने गरेको र सुन ल्याउनेबाट रकम असुल्ने गरिएको थियो । यसरी दैनिक आउने सुन गुरुङ्ग बाउछोराको मनि चेन्जरको कोठामा जम्मा गरि उपत्यकाका विभिन्न सुन चाँदी पसलमा बिक्री हुदै आएको पनि प्रहरीले बताएको छ । प्रहरीले लुकाइराखेको १ सय १३ ग्राम भन्दा बढी सुन र ६ लाख १६ हजार रुपैयाँ गिरोहबाट बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्