
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
शनिबार दशरथ रंगशालामा राइट टु प्रोटिन नामक म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री साहले यस्तो बताउनुभएको हो ।
मन्त्री साहले स्वस्थ, अनुशासित, शिक्षित, मर्यादित तथा सक्षम नागरिक राष्ट्र निर्माणका प्रमुख आधार भएको बताउनुभयो । उहाँले विविधताको एकता कायम गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक वृद्धिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षालाई पूरा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले प्रोटिनजन्य खाद्यपदार्थहरु जस्तै दुध, माछा, मासु, अण्डा, गेडागुडी, आदिको हिस्सालाई उल्लेख्य वृद्धि कुपोषणको समस्या निराकरणको प्रमुख आधार भएको बताउनुभयो ।
मन्त्री साहले सरकार जनताको सन्तुलित आहार प्राप्त गर्ने अधिकारप्रति संवेदनशील रहेको उल्लेख गर्नुभयो । मन्त्रालयले प्रोटिनजन्य पदार्थहरु माछामासु, दुध तथा गेडागुडीको उत्पादन, वितरण तथा उपलब्धताको सर्वसुलभ पहुँचप्रति विशेष सहजीकरण र सरकारका नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्दै आएको बतउनुभयो ।
प्रतिक्रिया दिनुहोस्