
काठमाडौं । आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएका छैनन् । तीन दिनदेखि सुनकोशी नदीमा हराइरहेका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका ती बालबालिकाको खोजी गर्न गएका सशस्त्र प्रहरीको गोताखोर टोली रित्तै हात फर्केको छ ।
सोमबार बेपत्ता बालबालिकाको खोजी कार्य तीब्र पारेपनि उनीहरुको अवस्था पत्ता लगाउन नसकेपछि त्यहाँबाट सशस्त्र प्रहरी बलको टोली फिर्ता भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोलीले झण्डै २ किलोमिटरसम्म पानी जमेको ठाउँहरुमा खोजी गर्दा पनि केही पत्ता नलागेपछि खोजतलास टोली फर्किएको बताइएको छ ।
त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा पौडी खेल्दखेल्दै बेपत्ता भएका थिए ।
बालबालिकालाई नदिले बगाएर अन्यत्र पुर्याएको हुनसक्ने भएकाले त्यसतर्फ खोजी गर्न मंगलबारदेखि थप प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्