
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताउनुभएको छ ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।
महासचिव पोखरेलले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुने बताउनुभयो । उहाँले सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको बताउनुभयो । उहाँले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताउनुभयो ।
महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजाने पनि स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभइ राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताउनुभयो । उहाँले एमाले सरकारमा पुगेकाले मिसन ०८४ के भयो भन्ने जिज्ञासा आइरहेको उल्लेख गर्दै अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पु¥याउने गरी नै भएको दाबी गर्नुभयो । उहाँले नेकपा एमालेको मिसन ०८४ को उद्देश्यमा फेरबदल नभएको बताउनुभयो । उहाँले अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य नभएको बताउनुभयो । उहाँले अहिलेको सहकार्य न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य भएको बताउनुभयो ।
महासचिव पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्