
काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताउनुभएको छ ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताउनुभएको हो । उहाँले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताउनुभयो ।
महानिरिक्षक कुँवरले जिबि राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताउनुभयो । राई मलेसियामा भएपनि नेपाल र मलेसियाका बीचमा सुपुर्दगी सन्धी नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताउनुभयो ।
महानिरिक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको स्पष्ट पार्नुभयो । उहाँले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताउनुभयो ।
महानिरिक्षक कुँवरले पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताउनुभयो । महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताउनुभयो । महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उहाँले कुनै दबाब र प्रभावमा नगरिउको बताउनुभयो ।
महानिरिक्षक कुँवरले जीवन चलाउनेले प्रहरीमाथि लगाएको आरोपहरुको सन्दर्भमा सम्बन्धित व्यक्ति पक्राउ नहुँदासम्म सो कुरालाई तथ्यको रुपमा लिन नसकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्