
काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिर क्षेत्रको जंगलमा शव गाड्न पूर्ण निषेध गर्ने आदेश दिएको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत माघ ७ गते दिएको आदेशको पूर्णपाठमा पशुपति क्षेत्रस्थित श्लेषमन्तक वनमा शव गाड्न पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको हो ।
श्लेषमान्तक वन क्षेत्रमा केही समुदायले शव गाड्ने कोशिस गर्दै आएकोमा सर्वोच्चले त्यस क्षेत्रमा शव गाड्न पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको हो । अधिवक्ता दीपकविक्रम मिश्रले ६ वर्षअघि दायर गरेको रिट निवेदनमाथि अन्तिम फैसला सुनाउँदै सर्वोच्चले वन क्षेत्रमा कंक्रिटको संरचना बनाउन पनि रोक लगाएको छ ।
वन क्षेत्रमा शव गाड्ने समुदायले कंक्रिटको चिहान बनाउने गरेकोमा सर्वोच्चले त्यसो नगर्न भनेको हो । यस्तै सर्वोच्च अदालतले पुशपतिनाथ क्षेत्रभित्र ईञ्जिनबाट चल्ने कुनै पनि सवारी साधनको प्रवेशमा समेत रोक लगाउन आदेश दिएको छ ।
पाशुपत क्षेत्रभित्रका वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्ने गरी तिलगंगा गोठाटार जाने भनिएको बाटोलगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमा समेत इञ्जिनबाट चल्ने कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन हुनेगरी सडक नबनाउन र बनाइसकेको भए तत्काल बन्द गर्न सर्वोच्चको आदेशमा भनिएका छ ।
सरकार र सरोकारवाला निकायहरुलाई दिइएको ८ बुँदे निर्देशनात्मक आदेशमा पाशुपत क्षेत्रका कुनै भौतिक संरचनाको मर्मत, सुधार वा पुनःनिर्माण गर्दा त्यसको मौलिक स्वरुप कायम रहने र सम्पदाको अधिकतम् संरक्षण हुने सुनिश्चित गर्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्