
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ ।
आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानविन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको भन्दै यसले संशय पैदा भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीश जस्तो गरी क्लिनचिट दिनुभएको बताउनुभयो । प्रधानमन्त्रीले ठुलो माछालाई काखीमा च्यापेर सानो माछा खोज्नुभएको बताउँदै उहाँले चाँडोभन्दा चाँडो संसदीय समिति बनाउन माग गर्नुभयो ।
सांसद गौतमले भन्नुभयो– ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरुले एउटा संशय पैदा भएको छ कि यसको न्याय निरुपण कसरी हुन्छ ? प्रधानमन्त्रीले छानवीन गर्छु भन्ने, ठुलो माछा काखीमा च्यापेर सानो माछाको मात्रै खोजी गर्ने कुराको प्रतिवद्धता देखाएर पुग्छ सभामुख महोदय ? हामीले गम्भीर प्रश्न उठाएका छौँ । हामी चाहन्छौँ, संसदीय छानविन समिति बनोस् । संसद हामीलाई आवश्यक छ । प्रमुख प्रतिपक्षको रुपमा हामीले उठाएको यो मुद्दामा सम्पूर्ण संसदको ध्यानाकर्षण गराउन चाहन्छौँ । जिम्मेवार पार्टीका साथीहरुलाई पनि यसप्रति गम्भीर हुन आग्रह गर्न चाहन्छौँ । सरकार यसप्रति गम्भीर बनोस् । संसदीय समिति बनाओस् । यो कुरा चाँडोभन्दा चाँडो निष्कर्षमा पुगोस् । होइन भने यो मुद्दा बारम्बार उठाइरहने छौँ । जनताकोमा लिएर जानेछौँ । बाध्य भयौँ भने रोष्टम घेर्ने ठाउँमा पनि पुग्नसक्छौँ ।’
संसदीय छानबिन समिति नबनेमा काँग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने सांसद गौतमले चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्