१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गर्‍यो : नेपाली काँग्रेस


429
Shares

काठमाडौं । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताउनुभएको हो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताउनुभयो । उहाँले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालयपनि आफैँ भएर प्रस्तुत भएको पनि बताउनुभयो ।

सांसद गौतमले गृहमन्त्री लामिछानेले आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको बताउनुभयो । उहाँले सत्ता गठबन्धनका नेताहरु सहयात्री दलका नेतालाई गुमाउनुपर्छ कि भनेर त्रासमा रहेका बताउनुभयो । सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उहाँको भनाइ छ ।

‘आफ्नो अनुकुलमा उहाँहरुले आफ्नो फैसला सुनाउनुहुन्छ । सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरुलाई घरको न घाटको बनाउने सहकारी ठगहरुको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्यत भएको देखिन्छ । प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला दिनुहुन्छ । मानौँ, वासिङ मेसिनमा राखेर सफा, चट्ट पारेर निकालेको जस्तो गरेर बोल्नुहुन्छ । आरोपित गृहमन्त्रीज्यू आफूविरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ । उजुरी त कागजमै लेख्ने होला नि । ताम्रपत्रमा कि स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि ।’ सांसद गौतमले भन्नुभयो ।

सांसद गौतमले सहकारी समस्या छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताउनुभयो । संसदीय समिति बनाउने प्रतिपक्ष दल काँग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरुलाई उहाँले आग्रह गर्नुभयो छ ।