
काठमाडौं । नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका गतिविधि अध्ययन गर्न दुई वटा उपसमिति बनाउन सांसदहरुले माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सांसदहरुले समितिमा वायुसेवा निगम र प्राधिकरण्का विषयमा बारम्बार छलफल हुने तर परिमाण नआउने गरेको भन्दै छुट्टै उपसमिति बनाएर अध्ययन गर्नुपर्ने माग रोखेका हुन् ।
उनीहरुले समितिमा लामो समयको अन्तरमा छलफल हुने तर निचोड नआउने भएकाले उपसमितिमार्फत निगम र प्राधिकरणका गतिविधि अध्ययन र छानविन गरि सुझाव दिन सहज हुने बताए । सांसदहरुले समितिले नेपाल वायुसेवा निगमका कमजोरी सुधार गर्न पर्यटन मन्त्रीलाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए । उनीहरुले राष्ट्रियध्वाजवाहक निगम संधै भ्रष्टाचारको अखडा हुन नहुने बताए ।
सांसदहरुले आवश्यकता भन्दा पनि स्वार्थपूर्तिको लागि निगमलाई धरासायी बनाउने काम रोक्न आवश्यकतामा जोड दिए । उनीहरुले राष्ट्रिय ध्वाजवाहक निगमलाई थप सुदृढ र पारदर्शी बनाएर हवाई यात्रालाई सहज र सहुलियत दिने बनाउन सुझाव दिए । नेपाल वायुसेवा नियमको सेवा भरपर्दा र विश्वानिय बनाउने गरी निगम नेतृत्वले काम गर्न आवश्यक रहेको सांसदहरुको भनाई छ ।
बैठकमा सांसदहरुले निगमको ऋण तिर्नको लागि सोल्टी होटलको शेयर बिक्री गर्न र न्युरोडको जग्गा बेच्न कानूनी र नीतिगत रुपमा अफ्ठ्यारो नहुने बताए । केही सांसदले भने सोल्टी होटलको शेयर बिक्री र न्युरोडको जग्गा बेचेर रकम हिनामिना गर्ने माध्यम बन्ने गरी काम गर्न नहुने बताए । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले समितिले नेपाल एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भइरहेका गतिविधिको विषयमा अध्ययन गर्न छुट्टा छुट्टै उपसमिति बनाउन माग गर्नुभयो । उहाँले समितिको बैठक लामो समयपछि बस्ने तर सांसदहरु हरेक कुरामा अपडेट हुने अवस्था नहुने बताउनुभयो ।
समिति बैठकमा बोल्दै नेकपा एमालेका सांसद देविप्रकाश भट्टचनले निगमका अध्यक्षलाई सोल्टी होटलको शेयर बिक्री गर्ने जिम्मा आफूहरुलाई दिन आग्रह गर्नुभयो । उहाँले शेयर बिक्री गरेर पैसा निगमलाई दिने बताउनुभयो । सांसद भट्टचनले नेपाल वायुसेवा नियमलाई ३ अर्ब रुपैयाँ बराबरको रकम सोल्टीको शेयर बेच्दा जम्मा हुने बताउनु भयो । उहाँले निगमले वार्षिक रुपमा ३० करोड घाटा व्यहोरीरहेको बताउनुभयो । उहाँले सोल्टी होटललाई क्याटिङको जिम्मा दिएको भन्दै कुन मापदण्डमा दिएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले संस्थापक शेयर बिक्री गर्न मिल्दैन भन्ने अध्यक्षलाई भ्रम परेको हुनसक्ने भन्दै शेयर बेच्ने अधिकार अध्यक्षको भएकाले स्वीकृत दिए बेचेर पैसा दिन तयार रहेको बताउनुभयो । उहाँले निगम सुधार समितिले दिएको सुझाव अनुसार सोल्टीको शेयर र न्युरोडको जग्गा बेचेर सिंनामगलमा निगमको नयाँ भवन र जहाज खरिद गर्न आवश्यक रकम समेत पुग्ने दाबी गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सोल्टी होटलको शेयर र जग्गा बेचेर पैसा केही नगरी पैसा सकाएपछि के गर्ने भन्ने थप समस्या आउने बताउनु भयो । उहाँले शेयर,जग्गा बेचेर ऋण तिर्ने र निगमलाई सुधार गर्नेकुरा भन्दा पहिला ५० अर्ब घाटामा गएको विषयमा छानविन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले नेपालमा नचल्ने चिनियाँ जहाँज किन किनेको ? भन्दै छानविन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निगमले पाइलट तयार गर्न नसक्नु दुःखद् पक्ष भएको बताउनुभयो ।
नेकपा एमालेकी सचेतक सुनिता बरालले निगमको जहाजको लागि सामान्य पार्टहरु बिग्रँदा पनि उपलब्ध नहुने अवस्थामा निगम पुगेको बताउनुभयो । उहाँले यस्ता कुराहरुले नेपाल एयरलाइन्स कसरी विश्वासनिय हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले निकट काट्न खोज्दा कतै टिकट नपाउने तर जहाज खाली उडान भर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले नेपाल एयरलाइन्सलाई विश्वसनिय र प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभयो । विश्वासनिय र प्रविधिमैत्री बनाउन निगमलाई के समस्या छ ? भन्नेकुरा समितिलाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले निगमको नकारात्मक विषय सबै भन्दा छिटो किन बाहिर आउँछ ? भन्दै प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्