२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौं : मन्त्री अधिकारी


247
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताउनुभएको छ ।

सोमबार ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।

मन्त्री अधिकारीले २०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा बस्न नपाउने भनिएको भएपनि अहिले चारवटा भन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताउनुभयो । उहाँले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकाले मात्रै नभइ सहकारी अभियान्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

मन्त्री अधिकारीले सहकारी भित्र देखिएका अहिलेका समस्या समाधान गर्नको लागि अहिलेसम्म भएका त्रुटीबारे खोजि गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सहकारीसँग सरकार,सहकारी र सर्वसाधरण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताउनुभयो ।

मन्त्री अधिकारीले सहकारीहरु ऐन, नियम पूरा गरेर दर्ता गर्ने तर सहकारीको उद्देश्य अनुसार काम नगर्दा सहकारीमा समस्या आएको बताउनुभयो । उहाँले सहकारीहरुले सबैभन्दा पहिला सहकारीको उद्देश्य पूरा गर्न लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले राष्ट्रिय सहकारी अन्तर्गत भएका सबै निकायहरुमा कमजोरी गर्नेलाई कारबाही गर्ने बताउनुभयो ।

मन्त्री अधिकारीले कमजोरी गर्नेलाई सरकारले कारबाही गरेरै छोड्ने बताउनुभयो । उहाँले सहकारी स्थानीय तहमा दर्ता गर्ने प्रावधानसँगै खारेज गर्ने अधिकार पनि दिन आवश्यक रहेको बताउनुभयो ।