
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा सोमबार भएको मतदानमा मुख्यमन्त्री जमरकट्टेलले ५६ मत पाउनुभएको हो ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिनेमा उहाँले त्यत्ति मात्रै मत पाउनुभयो । जमरकट्टेललाई एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका एक सांसदले मत दिएका थिए ।
नेपाली कांग्रेसका ३७ जनाले विपक्षमा मतदान गर्दा राप्रपाका १२ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद भने तटस्थ बसे । मुख्यमन्त्री जमरकट्टेले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे डाकिएको बैठक एकीकृत समाजवादीकी सांसद रमा आले मगरले आफूलाई मन्त्री पद चाहिने भन्दै काठमाडौंमा बसेपछि बैठक बस्न ढिलाई भएको थियो ।
शीर्ष नेतृत्वले मन्त्री बनाउने आश्वासन दिएपछि उनी हेटौंडा गएकी थिइन । त्यसअघि एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच प्रदेश सरकारहरुबारे सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्