२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म्याग्दीका वनपाखा लालीगुराँसले रंगिए : पर्यटकको भीड


338
Shares

म्याग्दी । वसन्त ऋतुको सुरुआतसँगै हिमाली जिल्ला म्याग्दीको उच्च तथा मध्य लेकाली क्षेत्रका वनपाखा लालीगुराँसले रंगिएपछि पर्यटकहरु रमाउन थालेका छन् ।

लालीगुराँसको छेकोबाट सेता हिमालहरु हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा वाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थीहरु घोडेपानी, पुनहिल, टोड्के, बेलढुङ्गा जस्ता लालीगुराँसका जंगलहरुमा उक्लिएका हुन् ।

राउण्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षण मानिएको घोडेपानीमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड लागेको छ ।

आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय होटेल व्यावसायीहरु खुशी भएका छन् । घोडेपानीका होटल व्यवसायी मिना गुरुङले आन्तरिक तथा बाह्य पर्यटकको आगमनले प्रायः सबै होटल भरिभराउ भएको बताउन’ भयो ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घरमा पर्यटक स्तरका होटलहरु सञ्चालित छन् ।

घोडेपानीमा लालीगुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि हिमालका साथै सूर्योदय अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदाय स्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ ।

घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन् । जथाभावी रूपमा काठ, दाउराका लागि रूख काट्दा गुराँसको जंगल मासिएपछि यस्तो नियम बनाएका हुन् । एक्यापको सहयोगमा तारबार लगाएर जंगलको घेराउ गरिएको छ ।

यस्तै पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमा गुँरासले जंगल राताम्मे बनेका छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँस साधारणतया फागुन, चैत र वैशाख महिनामा फुल्ने गर्दछ ।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाफी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।