
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले अहिलेको संविधान सम्झौताकै दस्तावेज भएकाले पूर्ण नरहेको बताउनुभयो । उहाँले अहिले आफूले नयाँ सत्ता समिकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गर्नुभयो । उहाँले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भइ र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान सक्ने बताउनुभयो । उहाँले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संविधानलाई बढीभन्दा बढी प्रगतिशील धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको बताउनुभयो । उहाँले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
‘मैले अहिले जुन कदम चालेको छु, त्यो प्रधानमन्त्री पदको लागि बिल्कुल होइन । यो कुरा सबैले बुझ्ने नै कुरा छ । यो समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भएर नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकताप्रति इमान्दार भएर केही जोखिम, केही चुनौति देख्दादेख्दै पनि चालिएको कदम हो । यसका विरुद्ध एउटा तप्का निकै नै विक्षिप्त भएको देखिन्छ । तर पनि जनता र राष्ट्रको पक्षमा यो कदमले अन्ततः जनतालाई डेलिभरी दिँदै जाँदा सबैले बुझ्ने गरी स्थापित हुन्छ । संविधानको पनि यहाँ धेरै कुराहरु भए । यो बनेको संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ । यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरु पनि छन् । थुप्रै समाजवादका विशेषताहरु पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा पनि छ ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले आफूले केही जोखिम मोलेर भएपनि देशभक्त वामपन्थीहरुलाई एकतामा ल्याउने जमर्को गरेको बताउनुभयो । उहाँले समाजवादको जन्म अन्ततः सडकबाटै भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्