१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


कृषिमा आधुनिकीकरण गर्नेगरी कृषि नीति बनाइरहेका छौँ : मन्त्री ज्वाला


78
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताउनु भएको छ ।

बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री साहले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा रहेको बताउनुभयो । उहाँले मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरुलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभुति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताउनुभयो ।

मन्त्री साहले नेपालमा मकैको उत्पादन डरलाग्दो रुपमा घटिरहेको जिकिर गर्नुभयो । उहाँले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रमहरु ल्याउने र मकैलाई बढावा दिनेगरी नीति निर्माण गरिरहेको बताउनुभयो । उहाँले नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने समेत बताउनुभयो ।

मन्त्री साहले भन्नुभयो, ‘मकैको बारेमा मैले ब्रिफिङ लिएँ, स्थिति एकदम भयानक अवस्थामा दुर्घटना हुने अवस्थामा छ । अहिले हामीले कृषि नीति बनाएको पनि अवस्था छ । जसको नेतृत्व मैले आफैँ गरिरहेको छु । जहाँ २०१५ देखि २०३५ सम्मको कृषि नीति । कृषि नीतिले यस्तो खालको उद्देश्य बोकेको छ, त्यो उद्देश्य यो मकैलाई कृषिमा जतिपनि बालीहरु हुन्छ, कम्तिमा प्रोत्साहन दिनेगरी कार्यक्रमहरु ल्याउने र यो मकैलाई बढावा दिनेगरी जहाँ नेपालमा जतिपनि खालि जग्गाहरु छ, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग तीन वटै सरकारसँग जो हामी तीन खम्बे नीतिमा अघि बढ्ने प्रयासमा छौँ ।’

मन्त्री साहले अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको बतउनुभयो । वास्तविक किसानलाई पहिचान गरी १२ वर्षका लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । मकैको उत्पादन वृद्धि गरी बजारीकरण गर्न आवश्यक रहेको र कृषि उत्पादनको बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको मन्त्री साहले बताउनुभयो ।