२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


पाँच महिना नबित्दै बेनी–गलेश्वर सडकको कालोपत्रे उप्कियो


351
Shares

म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्रे पाँच महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको पाँच महिना नबित्दै कालोपत्र उप्किन सुरु भएको हो ।

सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर सडक कालोपत्र गर्दा गुणस्तरहीन बनेको स्थानीयले बताएका छन् । सडक कालोपत्र भएको ५–६ महिना नहुँदै उप्किन थालेको गलेश्वरका स्थानीय चक्रप्रसाद शेरचलले बताउनुभयो ।

गत पुस महिनामा २४ महिनाको ठेक्का एक वर्षमै सकिएपछि निर्माण व्यवसायीको चौतर्फी प्रशंसा भएको थियो । पाँच महिनामा नै कालोपत्र उप्किएपछि निर्माण व्यवसायीको अहिले आलोचना भइरहेको छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अहिले सडक मर्मतको काम थालेको छ ।

सडक कालोपत्र उप्किएको गुनासो आएपछि मर्मतका लागि ठेकेदारलाई निर्देशन दिइएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । ‘निर्माणको क्रममा कतिपय ठाउँमा यस्तै कमीकमजोरी हुन्छन्,’ आयोजना प्रमुख झाले भन्नुभयो, ‘निर्माण व्यवसायीले तुरुन्तै काम गर्नुपर्छ, बिग्रिएको स्थानको पहिचान गरी सम्झौता अनुसार नै मर्मत गर्नुपर्छ ।’

दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले भ्याट÷पीएससहित १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ रुपियाँमा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो ।

पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेपछि बेनी नगरपालिकासहित सङ्घ संस्थाले समेत निर्माण व्यवसायीलाई सम्मान गरेका थिए ।

आठ मिटरको फराकिलो पारिएको सडक खण्डका खोल्साहरूमा कल्भट निर्माण गरिएको छ । दुई सय मिटर आरसिसी ढलान गरिएको छ भने डिबिएसडी प्रविधिको कालोपत्र गरिएको छ ।

यो सडक हुँदै प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम, म्याग्दीको उत्तरी भेगसहित मुस्ताङ आवतजावत गरिन्छ ।