
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली काँगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।
बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बताउनुभयो । उहाँले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गर्नुभयो ।
नेता कोइरालाले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताउँदै उहाँले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताउनुभयो । उहाँले विगतका अनुभव हेर्दा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उहाँले देशलाई विकास गर्न नेकपा एमाले र काँग्रेस मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
‘देश अफ्ठ्यारो परिस्थितिमा छ । त्यसको लागि अहिले जुन गठबन्धनहरु चलिरहेको छ नि, एमाले र माओवादीको । यो भन्दा पहिला नेपाली काँग्रेस र माओवादीको । यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनैपनि सम्भावना छैन, यस्तो गठबन्धनहरुले । राजनीतिक स्थिरता पनि हुँदैन भन्नेकुरा त, हरेक प्रदेशमा आइसकेको छ । हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अफ्ठ्यारो हुन्छ । स्टेबल गभर्मेण्ट दिन जरुरी छ । पहिलो संविधान सभा चार जना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्नुभयो, तर संविधान त बनेन । संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ ।’ नेता कोइरालाले उहाँले भन्नुभयो ।
कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता कोइरालाले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताउनुभयो । कोशी सरकार विघटन भए मध्यावधीमा जाने स्पष्ट रहेको बताउनुभयो । उहाँले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताउनुभयो । उहाँले राजीनामा नै दिनुपर्छ र विश्वासको मत लिनुपर्छ भन्ने नरहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्