
पाल्पा । पाल्पाको तानसेन नगरपालिका– १० तेल्घामा स्थापना गर्न भनी काठमाडौंबाट आठ वर्ष अघि लगिएको भगवान गणेशको मूर्ति अलपत्र परेको छ । आठ वर्षसम्म पनि मूर्ति प्रतिस्थापन नगरिएपछि तानसेनवासीले चासो देखाएका छन ।
तेल्घा गुफाचौरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गुरुयोजनाअन्तर्गत १५ फिट उँचाइ र ८ फिट चौडाइको गणेशको मूर्ति लगिएको थियो । मूर्ति लगेर तानसेनको टुँडिखेलमा राखिएकोमा पाँच वर्षपछि तेल्घा वडा कार्यालयमा सारिएको थियो । तर उक्त मूर्ति प्रतिस्थापन गर्नेतर्फ भने अभियन्ताहरुले चासो दिन छाडेका छन् ।
२०७५ सालमा महायज्ञ गरी ३२ लाख रुयैयाँ सहयोग उठाएपनि मूर्ति भने प्रतिस्थापन नगरी अलपत्र छाडिएको छ । मूर्ति गुफाचौर पुर्याउन सडक नबनेपछि वडाध्यक्ष हिमलाल पंगेनी सहितको टोलीले तानसेन नगरपालिकासँग सहयोग समेत मागेको पंगेनीले बताउनुभयो ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले मूर्ति राख्ने स्थानसम्म सडक पुर्याउनका लागि प्राविधिक खटाउने र आगामी वर्षको बजेटमा योजना समावेश गर्ने आश्वासन दिनुभएको छ ।
डुम्रेदेखि गुफाचौरसम्मको ७ किलोमिटर बाटो पिच लगायत पुर्वाधारका लागि विश्वबैंकको ५९ करोड रुपैयाँ स्वीकृत भएर टेण्डरसमेत भइसकेकाले अबको १५ महिनाभित्र दुई लेनको सडक तयार हुने तानसेन नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्