
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषिकर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष मल्लले यस्तो माग गर्नुभएको हो ।
अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थाहरुले कृषि कर्जाका नाममा अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषिकर्जा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष मल्लले सरकारले युवाहरुलाई मुलुकभित्रै रोजगारी दिनेगरी तत्काल रणनीतिक योजना बनाउन आग्रह गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र आयातमुखी भएको बताउनु भयो । उहाँले कृषिप्रधान देश नेपालले वार्षिक खर्बौं रुपैयाँ भन्दा बढीको खाद्यान्न तथा खाद्य सामाग्रीहरु आयात गरी उपभोग गरिरहेको बताउनुभयो । उहाँले मुलुकमा भएको प्राकृतिक स्रोत र साधनहरुलाई प्रवद्र्धन, उत्पादन,उपभोग र निर्यात गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष मल्लले तुलानामत्मक लाभ भएका कृषि,जलस्रोत,पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले हस्तकलाका सामाग्री, खानीजन्य वस्तुहरु,बहुमूल्य रत्न पत्थर उत्पादन तथा ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष मल्लले आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवद्र्धनका लागि संसदमा विचाराधिन कानूनहरु यथाशिघ्र संशोधन गरी पारित गर्न माग गर्नुभयो । उहाँले नेपालमा काठको आयातलाई बन्द गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्