
काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा मंगलबारदेखि सुरु भएको छ ।
नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइने र बैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने गरिन्छ ।
जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै तयारी पूरा भएको गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । सरकारी पूजा बिहान ११ बजे र सर्वसाधारणको पूजा दिउँसो ३ बजेभित्र सकेर दिउँसो ३ बजेदेखि भैरवको रथ तान्न सुरु गरिएको हो ।
लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ । शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । जात्रालाई मर्यादित बनाउन मदिरा बिक्री वितरणमा रोक समेत लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्