२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुनसरीको चतरामा महाकुम्भ मेला सुरु


1.508k
Shares

काठमाडौं । सुनसरीको चतरामा आजबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सुरु भएको छ ।

पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कुम्भ मेलाले सबै जातजाति र धर्मलाई एकै सूत्रमा बाँध्ने मात्र नभई धार्मिक पर्यटन बिस्तारमा समेत टेवा पुग्ने बताउनुभयो । उहाँले मेलाले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने बताउनुभयो । उहाँले मेलाले धार्मिक पर्यटकीय गनतव्यको विकास गर्ने कार्यमा योगदान पुग्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रथम जगद्गुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्यले नागरिक अभिनन्दन गर्नुभएको थियो । पूर्ण महाकुम्भको समुद्घाटन पूर्वजगद्गुरु बालसन्त मोहनशरण देवाचार्यसहित हिन्दु धर्मका गुरु तथा अगुवा सहितको उपस्थितिमा पहिलो महास्नान गरिएको छ । सुनसरीको चतरामा आजबाट शुरु पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ ।

महिना दिनसम्म चल्ने महाकुम्भमा शङ्कराचार्य, वैष्णवाचार्य, जगद्गुरु, साधुसन्त, महन्त र धर्माचार्य एवं विद्वानहरुबाट धार्मिक प्रवचनका साथै अनुष्ठान, हवन लगायतका विधिविधान सहितका धार्मिक कार्यक्रम आयोजना हुने आयोजक बाह्रवर्षे पिण्डेश्वर पूर्व महाकुम्भ मेला मूल आयोजक समिति चतरा सुनसरीले जनाएको छ । कुम्भ मेलामा नेपालभरका साथै भारत र तेस्रो मुलुकबाट समेत हिन्दु धर्मका गुरु,अनुयायी तथा भक्तजनहरु आउने आयोजकको विश्वास छ ।